सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन भोलीदेखि शुरु हुँदै, यस्तो छ कार्यसूची

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन भोलीदेखि शुरु हुँदै, यस्तो छ कार्यसूची

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन शुक्रवारदेखि शुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको अधिबेशन आह्वान गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेश सभाको तेस्रो अधिबेशन शुरु हुन लागेको हो ।

बिधेयक अधिबेशनको रुपमा मानिने प्रदेश सभाको तेस्रो अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको प्रशासन फाँटका शाखा अधिकृत सिद्धराज चटौतका अनुसार प्रदेश सभा सचिवालयले सांसदहरुका परिचय पत्र, प्रेस पास तथा कर्मचारीहरुका लागि प्रवेशको ब्यवस्था र दर्ता भएका बिधेयक समेत सांसदहरुलाई उपलब्ध गराउने सम्मका सम्पूर्ण तयारी पुरा गरेको छ ।

यस्तै प्रदेश सभाको कार्य ब्यवस्था परामर्श समितिले शुक्रवारको प्रदेश सभा अधिबेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व रहेका तीनै दलका प्रतिनिधिहरुले संबोधान गर्ने गरी कार्यसूची तय गरिएको छ ।

कार्य ब्यवस्था परामर्श समितिको निर्णय अनुसार बैठकमा सत्ता पक्षीय नेकपाका तर्फबाट तीन जना सांसद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट दुई जना सांसद र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका तर्फबाट एक जना सासंदले सम्बोधन गर्ने छन् ।

बैठकमा प्रदेश सभाको कार्य सञ्चालन गर्न बनेको बिधेयक २०७५ पनि पेश गर्ने कार्य सूची रहेको कार्य ब्यवस्था परामर्श समितिका सदस्य डा. रणबहादुर रावलले जानकारी दिए ।