पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेपछि आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिकाअनुसार पत्रहरू पढिसकेपछि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ ।
त्यसपछि, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्न सक्नेछन् ।
यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गरिनेछ । तर, बैठक सुरु हुनु अघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।