आईपीएल चैत २७ गतेबाट सुरू हुने, भारतको ६ सहरमा खेलाइने

आईपीएल चैत २७ गतेबाट सुरू हुने, भारतको ६ सहरमा खेलाइने

इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ।

भारतमा दुई वर्षपछि आईपीएल हुन लागेको हो। बीसीसीआईका अनुसार खेल अहमदावाद, बैंगलोर, चेन्‍नई, दिल्ली, मुम्बई र कोलकातामा हुनेछ। चेन्‍नईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरविरूद्ध प्रतिस्पर्धा गर्नेछ।

विश्वकै सबैभन्दा ठूलो अहमदावादको नरेन्द्र मोदी क्रिकेट रंगशालामा प्रतियोगिताको ‘प्लेअफ’ खेल र जेठ १६ गते फाइनल हुनेछ। अहमदावादमा पहिलोपटक आईपीएलको खेल हुन लागेको हो। प्रतियोगितामा लिग चरणका खेलहरू चार वटा रंगशालामा हुने छन्।

५६ खेलमध्ये चेन्‍नई, मुम्बई, कोलकाता र बैंगलोरले समान १०-१० खेल आयोजना गर्ने छन्। अहमदावाद र दिल्लीले समान आठ-आठ खेल आयोजना गर्ने छन्। यस संस्करणमा सबै खेल तटस्थ मैदानमा हुने छन्। कुनै पनि टोलीले घरेलु मैदानमा खेल्न पाउने छैनन्। प्रत्येक टिमले लिग चरण छ वटा रंगशालामा खेल्ने छन्।

कोभिड-१९ महामारीका कारण बीसीसीआईले गत वर्ष युनाइटेड अरब इमिरेट्स (युएई)मा खेलाएको थियो। कोभिड-१९ लाई सुरक्षा प्रोटोकल अपनाएर भारतमै आईपीएलमा एक टिमले प्रतियोगिता अवधिभर तीनपटक मात्र अर्को ठाउँको भ्रमण गर्नुपर्नेछ।

यो संस्करणमा पनि आईपीएल दर्शकबिना खेलाइनेछ। तथापि, अवस्थामा सुधार आए अन्त्यतिर दर्शकलाई रंगशालामा प्रवेश दिइने बीसीसीआईले जानकारी दिएको छ।