बझाङ पार्टी कार्यालयमा नेकपा हटाएर एमालेको बोर्ड राखियो

बझाङ पार्टी कार्यालयमा नेकपा हटाएर एमालेको बोर्ड राखियो

बझाङ । बझाङमा पुनः स्थापित नेकपा एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन् । पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्यूनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता पुष्पलाल रोकायाले जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि देखिएको ‘साइड इफेक्ट’स्वरूप नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।

नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंहको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन् । एमालेकै पार्टी कार्यालयमा एमालेकै बोर्ड टाँस्नु कुनै नौलो र आश्चर्यको विषय नभएको युवा सङ्घ जिल्ला संयोजक विनोद बहादुर सिंहले बताउनु भएको छ ।

अदालतको फैसलाको समर्थनमा अनेरास्ववियुले बुंगल नगरपालिका लगायतका ठाउँहरूमा दीप प्रज्वलन समेत गरेको र तेस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनु पूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो ।

पार्टी अध्यक्ष दिल बहादुर सिंह रहनु भएको थियो भने,  एकतापछि माओवादी केन्द्रका मीन बहादुर कुँवर अध्यक्ष रहनु भएको थियो । लामो समय दुवै समूह बिचको तनावले प्रहरी सुरक्षामा रहेको कार्यालयमा आजदेखि एमालेकै कार्यालयको रुपमा नियमित सञ्चालन आउने विद्यार्थी नेता लक्ष्मी जोशीले बताउनु भयो ।

कार्यालय एमालेकै थियो र अब पनि एमालेकै हुने गरी हामीले बोर्ड टाँस्यौ यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिनु पर्ने नेकपा एमालेका नेताहरूले बताएका छन् । अहिले पार्टीमा पुरानै नेकपा एमाले हुँदा खेरी अध्यक्ष पदमा रहनु भएका दिल बहादुर सिंह, उपाध्यक्ष पदमा रहनुभएका इन्द्र भण्डारी, सचिव दमन भण्डारी र सह सचिव धन बहादुर बोहोराकै नेतृत्व रहने समेत जानकारी दिएका छन् ।

साथै पार्टीको १७ लाख रुपैयाँ हिनामिना भएको विषयमा पनि दुवै पक्ष बसेर हिसाब किताब गर्ने समेत पार्टी अध्यक्ष दिल बहादुर सिंहले बताउनुभयो ।