सम्हालिएर बोल भन्दा झर्किएर जानू हुन्थ्यो।
बसौं न मित्र भन्दा सधैं तर्किएर जानू हुन्थ्यो।
थाहा थियो यहीँ आउनेछौ एक दिन तिमी नि
घर यहीँ हो भागेर कहाँ फर्किएर जानू हुन्थ्यो।
समयले फेरि छेउमै बसेर गफ गर्नुपर्ने बनायो,
आउ बस न भन्दा टाढा मर्किएर जानू हुन्थ्यो।
बोलेको बोली फर्किन्न लगाम लाउनु पर्छ सधैं
किन हामी यहाँ छौँ भन्दै चर्किएर जानू हुन्थ्यो।
आफ्नालाई सराप्दै हिड्नु राम्रो होइन भनिरहे
अर्कै-सँग पाइला मिलाइ लर्किएर जानू हुन्थ्यो।
हाम्रा कुरा तिम्रा-लागि तिता भए जहिल्यै पनि,
अब सँगै जानुपर्यो कहाँ सर्किएर जानू हुन्थ्यो।
२०७७/११/२५ महेन्द्रनगर