सांसद पद गए पनि माओवादीमा फर्किने सम्भावना देख्दिँनः उद्योगमन्त्री भट्ट

सांसद पद गए पनि माओवादीमा फर्किने सम्भावना देख्दिँनः उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।

मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँग बोल्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना नरहेको बताएका हुन् । उनले आफ्नो सांसद पदबारे भने सोचेर निर्णय लिने बताए ।

‘हामी छलफलमा छौँ । सम्माननीय प्रधानमन्त्रीसँग छलफल गरिरहेका छौँ । के गर्ने भन्ने क्लियर भएको छैन’,उनले भने, ‘समर्थन फिर्ता लिएपनि माओवादीमा फर्किने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पनि छलफल गर्दैछौं, के हुन्छ हेरौं ।’

उनले सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँताईदिएपछिको नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको बताए । मन्त्री भट्टले पार्टी एकताको सम्भावनाहरुका बारेमा पनि छलफल भइरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि उनी तत्कालिन नेकपाको केपी आली समूहमा लागेका थिए ।

मन्त्री भट्ट माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादी छोड्नेमा भट्टसहित गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, शहरी विकासमन्त्री प्रभु शाह र श्रममन्त्री गौरीशंकर चौधरी रहेका छन् ।

माओवादी केन्द्रले भने आफ्ना नेताहरु सरकारमा रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।