सरकारका काम कारवाहीको विपक्षीद्धारा विरोध, सत्तापक्षको बचाउ

सरकारका काम कारवाहीको विपक्षीद्धारा विरोध, सत्तापक्षको बचाउ

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन तथा हिउँदे अधिवेशन शुक्रवारदेखि शुरु भएको छ ।

तेस्रो अधिबेशनको पहिलो बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभा अधिबेशन आह्वान गरेको पत्र पढेर सुनाएका थिए । बिधेयक अधिबेशनको रुपमा मानिने प्रदेश सभाको हिउँदे अधिबेशनको पहिलो बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरुले सम्बोधन गरेका छन् ।

पहिलो बैठकमा प्रतिपक्षी सांसदहरुले सरकारको आलोचना गरेका छन् भने सत्तापक्षीय सासंदहरुले सरकारको बचाउ गरेका छन् । प्रदेश सभाको हिउँदे अधिबेशनको पहिलो बैठकमा सत्ता र प्रतिपक्षका सासंदहरुले सरकारको आलोचना र बचाउमा समय खर्चेका छन् ।

सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले सरकारले प्रदेश सभालाई बिजनेस नदिएको मात्र नभई प्रदेश सभालाई नै चासो नदिएको आरोप लगाए । प्रदेशमा सरकार छ भन्ने अनुभुति दिन सरकार असफल भएको आरोप उनको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता डा. रावलको प्रतिवाद गर्दै सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक तारा लामा तमाङले एकठाउँमा मात्रै बिग्रिएको कुरालाई समग्रतामा बुझेर हल्ला फैलाइने गरेको आरोप लगाए । उनले भने, ‘संघीयताको मर्म अनुसार प्रदेश सरकारले क्रमिक रुपमा काम गरिरहेको छ ।

छिटो प्रतिफल खोज्न हतार हुन्छ । सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम छ ।’ प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद भरत खड्काले सरकार प्रभावकारी बन्न नसकेको, प्रदेशमा शान्ति सुरक्षाको अवस्था खस्केको र सरकारले गति लिन नसकेको आरोप लगाए ।

उनले सरकारको ६ महिनाको खर्च न्यून रहनुले सरकार प्रभावकारी बन्न नसकेको प्रस्ट हुने बताए । सरकारका गतिबिधिले ब्यवस्थाप्रति नै जनताको बितृष्णा बढ्न थालेको बताउँदै उनले भने, ‘योजनाहरुको कार्यान्वयन कसरी गर्ने र कसले गर्ने भन्ने टुंगो नलाग्दा चालू आर्थिक बर्षको बजेट समेत फ्रिज जाने सम्भावना छ ।’

उनले अराजक ढङ्गले योजनाहरु बाँडफाँड भइरहेको आरोप लगाएका छन । सत्तापक्ष नेकपाका सासंद बीरमान चौधरीले सरकारको बचाउ गर्दै बिपक्षी सासंदहरुले लामो संघर्षपछि प्राप्त भएको संघीय शासन प्रणालीमाथि प्रश्न उठाएर उनीहरु आफै संघीयताको कार्यान्वयनमा इमान्दार छन कि छैनन् भन्ने प्रश्न उब्जिएको आरोप लगाए।

‘नयाँ प्रक्रियामा गएपछि स्वाभाविक रुपमा केही समस्या आएको छ । संसारका अन्य मुलुकमा पनि संघीय शासन प्रणाली शुरु भएको चार बर्षपछि मात्रै पूर्ण कार्यान्वयनमा आएको उदाहरण छ ।

सरकारको बचाउ गर्दै सांसद चौधरीले भने, ‘अहिले नै प्रदेश सरकार प्रभावकारी भएन भन्ने बेला भइ सकेको छैन ।’ सत्तापक्षका अर्का सासंद मान बहादुर धामीले पनि प्रदेश सरकारले अहिले नै केही गर्न सकेन भनेर भनिहाल्नुपर्ने बेला नभएको दावी गरे ।

उनले समेत सरकारको बचाउ गर्दै कानून निर्माणको काम भइरहेको र संघीय सरकारसित समन्वय गर्दै सरकारले प्रदेशमा गति लिइरहको बताए । प्रदेश सभाको अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सासंद मालमति कुमारी राना थारुले प्रदेश सरकार प्रभावकारी बन्न नसकिरहेको भन्दै सरकारको आलोचना गरिन् ।