सेनालाई विवादमा नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह

सेनालाई विवादमा नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक चरित्र बोकेको नेपाली सेनालाई अनावश्यकरुपमा बेलाबेलामा विवादमा ल्याउने खेल अन्त्य हुनुपर्ने बताउनुभएको छ । उहाँले केही समूहले आफ्नो संकीर्ण स्वार्थ पूरा नभएपछि नेपाली सेनालाई विवादमा ल्याउने प्रयत्न हुने गरेको र त्यसको सबै नेपाली मिलेर अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बीसौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको एउटा बलियो खम्बाका रुपमा रहेको सेनालाई विवादमा पार्ने षड्यन्त्रलाई चिर्न पनि आग्रह गर्नुभयो । ‘नेपाली सेनाका तर्फबाट कानुन उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले राजनीतिप्रति चासो नभएको संस्थालाई विवादमा ल्याउने काम कोही कसैबाट हुनुहुँदैन।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।‘राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको सफल कार्यान्वयन गर्ने भनेको नेपाली सेनाले नै हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सेनाले उक्त नीति कार्यान्वयन गरेको छ कि छैन भनेर खबरदारी गर्नुपर्छ ।’नेपाली सेनालाई जबरजस्ती घिसारेर विवादमा ल्याउने समूह र प्रवृत्तिप्रति सजक रहनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सेनालाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने परिपाटी रहेको मुलुकमा सेनालाई अनावश्यकरुपमा विवादमा ल्याउन नहुने बताउनुभयो ।उहाँले नेपाली जनताको चेतनालाई समयसमयमा अलमल्याउने प्रयास भइरहेकाले त्यस्ता भ्रममा नपर्न पनि आग्रह गर्नुभएको छ ।

२०४७ सालको संविधानले परिकल्पना गरेको राष्ट्रिय सुरक्षा परिषद्को स्थापना २०५७ फागुन २७ गते भएको थियो । परिषद्ले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गरेको उहाँले बताउनुभयो ।उहाँले आफ्नो राष्ट्रहितको रक्षा गर्दा अन्य राष्ट्रको सुरक्षाका बारेमा धावा बोल्ने काम गर्न नहुने बताउँदै अहिले विश्वभरका देशहरुले सेनालाई दुई किसिमले परिचालन गर्ने गरेको भए पनि नेपालले भने राष्ट्रिय सुरक्षाका लागि मात्रै सेनालाई परिचालन गर्ने गरेको बताउनुभयो ।अहिले विश्वका शक्तिशाली देशले सेनालाई आफ्नो प्रभुत्व विस्तार गर्न सेनाको परिचालन गर्ने गरेको पाइन्छ यस्ता कार्यले विश्वमा शान्ति कायम गर्न कठिन हुने बताउनुभयो ।राष्ट्र विखण्डन र हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय उद्देश्यलाई सबैले मनन गर्न आग्रह गर्नुभयो ।