जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुरु, यी हुन् मुख्य एजेण्डा

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुरु, यी हुन् मुख्य एजेण्डा

सत्ता समीकरणका लागि निर्णायक मध्येको एक जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक शुरु भएको छ । सिंहदरवारमा बसेको बैठकबाट जसपाले संसदीय दलको नेता चयन गर्ने अनुमान गरिएको छ।

यसका अलावा जसपाले रेशम चौधरीको रिहाई, सरकारमा जाने लगायतका विषयमा छलफल गर्ने जसपा नेताले लोकपथलाई बताए । बैठकमा आज दलको बिधान पारित हुने बताइएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि जसपा बनेपनि संसदीय दलमा भने अहिले पनि दुवै पार्टी छुट्टाछुट्टै छन् ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको जसपाले सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय पनि आजको बैठकबाटै गर्ने जनाइएको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु बिहीवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भए सरकारमा सामेल हुने जसपाको अडान छ । हिजोको छलफलमा यी विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

जसपाका अधिकांश नेताहरु नयाँ सत्ता समीकरणका लागि दौडधुप गरिरहँदा पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने सरकारमा नजाने धारणा राखेका छन् । यसले गर्दा जसपाभित्र नै आन्तरिक विवाद चर्कने सम्भावना समेत बढेको छ ।