९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बलात्कृत

९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बलात्कृत

स्याङजा | सुन्दा तपाईलाई अचम्म लाग्ला । तर सत्य यही हो । स्याङजामा ९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बलात्कृत भएकी छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् । उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । ‘उहाँले आरोप स्विकार्नुभयो । यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने ।

घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।