नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँ बढ्यो

नौ महिना पेट्रोल १४ र डिजेल ११ रुपैयाँ बढ्यो

पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने देखिएको छ । यसले सार्वजनिक यातायात, हवाईदेखि हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरु समेत महंगिने अवस्था सिर्जना भएको छ ।
तर, स्वचालित मूल्य प्रणालीअन्तर्गत भाउ बढाउँदा निगमले मूल्य स्थिरीकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैतमा प्रतिलिटरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको हो ।
गत साउनदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढदै गएपछि अहिले तीन गुणाभन्दा पनि बढी बढेर ६९÷७० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ । निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ ।
साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ । लगातार इन्धनको मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन गर्दा ५÷६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ ।
निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको बताए । “पछिल्लो समय इन्धनको मूल्य बढेको बढ्यै छ” उनले भने “मूल्य बढाउँदा पनि अझै १५ दिनमा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको छ ।” मूल्य धेरै नै बढेर आएपनि उपभोक्तालाई भार पर्न सक्ने भएकाले लिटरमा दुई रुपैयाँ मात्र मूल्य बढाइएको उनको भनाइ छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा र खाना पकाउने एलपीजी ग्यासमा ३ सय ९२ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
निगमका अनुसार, गत १८ साउनमा प्रतिलिटर एक सय ४ रुपैयाँ रहेको पेट्रोलको मूल्य हालसम्म लिटरमा १४ रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको छ । सो अवधिमा प्रतिलिटर ९० रुपैयाँ रहेको डिजेलमा मूल्य अहिले ११ रुपैयाँ बढेर १०१ पुगेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि ढुवानीका साधनको लागत बढ्न गई बजार मूल्य प्रभावित हुन थालेको छ । सो अवधिमा खाना पकाउने एलपजी ग्यासको मूल्य एक पटक बढेको छ । ६ माघमा निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर बजारमा ग्यासको मूल्य १ हजार चार सय रुपैयाँ कायम भएको हो । ग्यासमा भने दुई वर्षसम्म निगमले मूल्य बढाएको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, एक वर्षको अवधिमा १२.५ प्रतिशतले कच्चा तेलको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष माघमा ५५.५४ अमरिकी डलर प्रतिब्यारेल रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य गत माघमा ६२.४७ डलर प्रतिब्यारेल पुगेको छ । एक ब्यारेल बराबर करिब १ सय ६० लिटर हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै पटक–पटक मूल्य बढाउँदै आएको छ । -कारोबारदैनिक