भारतमा कोरोना भाइरस संक्रमणदर फेरि बढ्न थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टाभित्र त्यहाँ करिब ३६ हजार जनामा संक्रमण पहिचान भएको छ।
गत बुधबार भारतमा एकैदिन २८ हजार ९०२ जना संक्रमित भेटिएका थिए। यो दर बुधबार ३५ हजार ८७१ पुगेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरू भए यताकै सबैभन्दा उच्च हो।
भारतमा अहिलेसम्म कूल संक्रमित संख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगिसकेको छ। यी मध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १० लाख ६३ हजार २५ जना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टाभित्र कोरोना संक्रमणबाट भारतमा १७२ जनाको मृत्यु भएको छ। मृतक संख्या एक लाख ५९ हजार २१६ पुगेको त्यहाँको विभागीय निकायले जानकारी दिएको छ। भारतमा जनवरीबाट कोरोनाविरुद्ध खोप अभियान थालिएको थियो।
सो समयदेखि हालसम्म तीन करोड ७० लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ।
परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भए/नभएको परीक्षण गरिएको छ। बुधबार एकै दिन १० लाख ६३ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ।