टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन

टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सर्वसाधारण सेयरधनीका तर्फबाट अम्बिकाप्रसाद पौडैले सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन् । आउँदो चैत १३ गते हुने वार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।
टेलिकम पछिल्लो समयमा दूरसञ्चार क्षेत्रमा तीव्र प्रतिस्पर्धामा उत्रिएको कम्पनी हो । कम्पनीमा सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारण ८.४८ प्रतिशत सेयर लगानी छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ । नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ । पौडेल पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएका हुन् ।
१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनी असार मसान्तसम्म सञ्चित मुनाफा ७८ अर्ब रुपैयाँ छ । टेलिकमको पुँजी र सञ्चित मुनाफा तथा स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सके सबैभन्दा बढी राजस्व दिने, कर्मचारीलाई बोनस दिने र लगानीकर्तालाई प्रतिफल दिने कम्पनी हुन सक्ने उनले बताए । उनका अनुसार अगामी दिनमा टेलिकम पुँजीबजारको सबैभन्दा उत्कृष्ट कम्पनी हुन सक्ने प्रवल संभावना भएको कम्पनी हो । पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पूर्व अध्यक्ष पनि हुन् ।