बिहानैदेखि देशैभर मौसम बदली, विभिन्न स्थानमा वर्षाको सम्भावना

बिहानैदेखि देशैभर मौसम बदली, विभिन्न स्थानमा वर्षाको सम्भावना

आज (शनिबार) बिहानैदेखि देशैभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

‘विशेषगरी पहाडी भेगमा वर्षा हुने सम्भावना छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले शनिबार बिहान भनिन्, ‘काठमाडौं उपत्यकाका पनि आइसोलेटेड (निश्चित) स्थानमा वर्षा हुने सम्भावना छ।’

उनका अनुसार बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ। ‘अहिले पौने ९ बजे पनि मापन गरिन्छ, केही घट्ने सम्भावना हुन्छ,’ उनले भनिन्।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।