उद्योगी व्यवसायीलाई ओलीको आश्वासन : स्वदेशी उद्योग र उत्पादनमा आउने सबै समस्या समाधान गर्छौँ

उद्योगी व्यवसायीलाई ओलीको आश्वासन : स्वदेशी उद्योग र उत्पादनमा आउने सबै समस्या समाधान गर्छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् । 

शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीहरूसँगको भेटघाटमा ओलीले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । 

तर, वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोहीअनुसार पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्कने आश्वासन दिए । 

ओलीले भने, “हामी देश विकास गर्न चाहन्छौँ । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकीय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यस बाटोमा अघि बढ्न नसक्नु ।”

प्रधानमन्त्री ओलीले विभिन्न नीतिगत व्यवस्था सही बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासको गति समात्न नसकेको तर्क गरे । मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै अब इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दावी पनि उनले गरे ।

ओलीले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतको उत्थानबाट सम्मृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे । उनले उत्पादन, उद्योग लगायतको समग्र उत्थानका लागि सरकार आवश्यक काम गर्न तयार रहेको भन्दै उपयुक्त र तथ्यपरक आधारसहित सुझाव दिन आग्रह गरे ।

उद्योग व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधै तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय गतिशीलताका साथ अघि बढ्नुपर्ने स्पष्ट पारे । स्वदेशी उत्पादनको प्रयोग मात्रै नभएर गुणस्तरीय स्वदेशी उत्पादन बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिए । 

प्रधानमन्त्री ओलीले “कोही पनि पछाडि छोडिनु हुँदैन, पछाडि पर्नु ÷पारिनु हँुदैन” भन्ने भनाइलाई सार्थक रुपमा अगाडि बढाउने बताए । उनले अटोमोबाइल्सका समस्याको कुराभन्दा पनि नेपालमै अटोमोबाइल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिए । 

प्रधानमन्त्री ओलीले अत्यावश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर भएपनि उद्योग धन्दा भने स्वदेशमै सञ्चालन गर्न सुझाव दिए । उनले भने, “आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । म पनि चामल किनेर खान्छु, म व्यापारी भएँ ? किनेर गर्ने व्यापार खास व्यापार होइन ।”

प्रधानमन्त्री ओलीले व्यवसायीको मागअनुसार सरकार ब्युरोक्रेटिक समस्या समाधान गर्न लागिरहेको बताए । उनले उद्योगीका समस्या सुन्नका लागि मात्रै नभएर सम्बोधन गरेर अघि बढ्नका लागि छलफल गरिएको भन्दै सरकार नीजि क्षेत्रको समस्या सुनेर मात्रै नबस्ने बताए । 

ओलीले भने “सुनेर पारित गर्ने हो र ? सुनेर पाप कट्छ भनेर होइन काम गर्न र अवस्थामा परिर्वतन ल्याउनका लागि बसेको हो । नीजि क्षेत्रको समस्या नसुन्ने, त्यस्ताेसम्म नि होइन यो सरकार ।”

कार्यक्रममा उद्योग व्यवसायीले आआफ्नो क्षेत्रको समस्या र सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाएका थिए । केही उद्योगीले चुनावको बेलामा घोषणापत्रमा समावेश गरेका कुरालाई सत्तामा पुगेपछि बिर्सने गरिएको भन्दै व्यवसायीलाई ससम्मान व्यवसाय गर्ने वातावरण श्रृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।