चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने तयारी

चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने तयारी

चीनबाट ल्याउने भनिएको कोरोनाविरुद्धको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमार्फत खोप ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप २/४ दिनभित्रै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले जानकारी दिए ।

चीनले अनुदानमा दिएको खोप पनि बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको स्वास्थ्य मन्त्रालय प्रमुख डा.पोखरेलले बताए ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको छ । खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने डा.पोखरेलको भनाइ छ ।