बझाङ । प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले बझाङको केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३ र ६ मा ३० घर धुरीलाई बाख्रा वितरण गरेको छ ।
प्रगतिशील युवा समाज र वर्ल्ड भिजन साझेदारी अन्तर्गतको पोषण तथा उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको हो ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३ मा १० ओटा बाख्रा र ५ ओटा पाठा वडा नम्बर ६ मा २० ओटा बाख्रा गरी जम्मा ३० ओटा ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।
कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र जसबाट उक्त परिवारहरुलाइ कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथै आर्थिक स्थितिमा सुधार हुने समेत निर्देशक जोशीले बताउनु भयो । करिब ३ लाख ६० हजार रकम बराबरको बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राहरूको बिमा समेत गरिएको छ ।