धनगढी । कैलालीको घोडाघोडी नगरपालिका ५ डोकेबजारस्थिथ पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा च्यापिएर मृत्यु भएको एक जनाको शवको पहिचान अझै खुल्न सकेको छैन ।
उनको साथमा पहिचान खुल्ने कुनै कागजात र आफन्त समेत आई नपुगेकाले पहिचान खुल्न नसकेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले मृतकको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको जानकारी दिए ।
धनगढीबाट काठमाडौँको लागि हिँडेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस आइतबार राति दुर्घटनामा परेको थियो । बसमा सवार यात्रुमध्ये २७ जना घाइते भएका थिए। एक जनाको उपचार कोहलपुरमा र बाँकीको सुखड स्थित घोडाघोडी अस्पतालमा भइरहेको प्रहरी निरीक्षक थापाले बताए । बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटनामा परेको यात्रुहरूले बताएका छन् ।