कोरोनाका कारण रोकिएको गैँडा गणना शुरु, २० दिन लाग्ने

कोरोनाका कारण रोकिएको गैँडा गणना शुरु, २० दिन लाग्ने

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । 

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ ।
 
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको हो । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ । 

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । 

दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भरपर्दा बजेट अभावमा गणना हुन सकेको थिएन । सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । 

आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताबाट रु २५ लाख हाराहारी सहयोग हुने उनले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपाल र जेडएसएल नेपाललगायतका सङ्घ संस्थाको सहयोगमा गैँडा गणना शुरु गरिएको हो । 
 
हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्ने छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा  नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।