देउवाले भने: 'ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ’

देउवाले भने: 'ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ’

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको स्पष्ट पारेका हुन् । कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभामा सहभागी हुन र धरानमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन देउवा मोरङ आएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्तावसमेत नल्याउने बताए । विमानस्थलमा देउवा र पत्रकारहरूबीच सवालजवाफ चलेको थियो । पत्रकारहरूले सरकार कहिले बनाउने, किन नबनाएको ? देशलाई अनिर्णयको बन्दी किन बनाएको ? प्रतिगमनको नाइकेलाई किन नहटाएको ? ओलीसँग मिलेर सरकार बनाएर चुनावमा किन नगएको भनेर पत्रकारहरूले निरन्तर प्रश्न सोधेपछि देउवा आक्रोशित बनेका थिए । जवाफमा उनले कांग्रेस विपक्षी पार्टी भएको बताउँदै सरकार बन्ने अवस्था नरहेको बताए । 

कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ भनेर सोधेको प्रश्नमा देउवाले आफूहरू विपक्षी पार्टी भएकाले अहिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरण बनिनसकेको स्पष्ट पारे । सरकारको अपजसको भार टाउकोमा लिन आफूहरू तयार नभएको उनको भनाइ थियो ।

‘अहिले सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैन । प्रतिगमनको नाइके केपी ओली हो र ? तपाईहरूलाई थाहा होला,’ देउवाले भने । तर, पत्रकारहरूको प्रश्न त्यतिमै रोकिएन । उनीहरूले निरन्तर प्रश्न गर्दै अविश्वासको प्रस्ताव कहिले ल्याउने भनेर सोधेको सोध्यै गरेपछि भने देउवा जंगिए । आक्रोशित हँुदै उनले भने, ‘हामी विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, सुन्नु भएन ल जानोस् ।’ अदालतको फैसलापछि देश झन् अनिर्णयको बन्दी बन्यो नि भनेर पत्रकारले सोधेको प्रश्नको देउवाले भने, ‘के ठीक, के बेठीक, त्यो अदालतले भनिसकेको छ ।’ 

कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ’
कांग्रेस सभापति देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको भन्दै न्याय पाउने विश्वास लिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा उनले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’

उनले कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै आक्रोश पोखे । ‘जनताको करबाट तलब खाएर पार्टीको काम गर्ने ?’ झोक्किँदै देउवाले भने, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’ देउवाले आफूले चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेकोसमेत बताए । उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाएन–खाएन भन्ने हल्ला छ, तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ । खान्छु भनेर मात्रै भएन नि ।’ -नयाँ पत्रिका दैनिकमा खबर छ ।