सेनाको गोली प्रहारबाट बर्मामा ७ वर्षीया बालिकाको मृत्यु

सेनाको गोली प्रहारबाट बर्मामा ७ वर्षीया बालिकाको मृत्यु

बर्मामा सुरक्षाकर्मीले हानेकाे गोनी लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी बर्मेली नागरिक हुन्।

परिवारजनका अनुसार उनी मन्डलेस्थित आफ्नै घरमा मारिएकी हुन्। सेभ द चिल्ड्रनका अनुसार बर्मामा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।

बर्माको सेनाका अनुसार अहिलेसम्म आन्दोलनका क्रममा १६४ जनाको मृत्यु भएको छ। तर, एएपीपी (एसिस्टन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स)ले सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म २६१ जनाको ज्यान गएको जनाएको छ।

बर्माको सेनाले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा थुप्रैको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ। सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा यसका लागि आन्दोलनकारीलाई जिम्मेवार रहेको औल्याइएको छ।

मन्डले फ्युनरल सर्भिसका अनुसार मंगलबार ज्यान गुमाएकी ७ वर्षीया मन्डलेस्थित चनमाया ताजीकी हुन्। गोली लागेर घाइते भएपछि उनको ज्यान गएको फ्युनरल सर्भिसका कर्मचारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।

बर्माको पत्रिका म्यानमानरका अनुसार सेनाले उनका बुवालाई गोली हानेको थियो। घरभित्रै बुवाको काखमा बसिरहेकी चनमायालाई गोली लागेको हो।

सेनाको गोली लागेर मृत्यु भएकी ७ वर्षीया बालिकाको नाम किन म्यो चित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उद्धारकर्मीहरुका अनुसार घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएपनि बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन्।

किन म्योका परिवारका अनुसार उनका १९ वर्षीय दाइलाई पनि सेनाले पक्राउ गरेको छ। उनलाई पनि घरबाटै पक्राउ गरिएको जनाएको छ। तर, यसमा सेनाले कुनै प्रतिक्रिया जनाएको छैन।

सेभ द चिल्ड्रनले प्रेस विज्ञप्ति जारी गरी यसलाई भयभित घटना भनेको छ। घरभित्रै बसिरहेकी बालिकाको ज्यान जानु दुःखद भएको जनाएको छ। सोमबार १९ वर्षीय युवकको मृत्यु भएको थियो। यतिधेरै बालबालिकाको ज्यान जानु सुरक्षाकर्मीले जथाभावी मारिरहेको पुष्टि हुने सेभ द चिल्ड्रनले जनाएको छ।

१९ माघमा सेनाले जननिर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएको थियो। सैन्य सरकारले नेत्री आङ सान सु चीसहित अन्य नेता र मन्त्रीहरूलाई पनि नियन्त्रणमा लिएको थियो। उनीहरूलाई अझै छोडेको छैन।

सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गर्दा कैयौंको ज्यान गएको छ। तथापि प्रदर्शन रोकिएको छैन, झन्झन् बढ्दै गएको छ।

प्रदर्शनकारीले प्रजातन्त्र पुनःबहाली र नेत्री सु चीलाई रिहा गर्न माग गरिरहेका छन्। सन् २०११ देखि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि सेनाले सत्ता हातमा लिएको हो। सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।