डोटीमा फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता

डोटीमा फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता

डोटी ।   फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता आजबाट सुरु भएको छ ।  

यहाँको जोरायल गाउँपालिका–५ स्थित त्रिवेणी युवा समाजको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला होली देउडा प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको त्रिवेणी युवा समाजका अध्यक्ष निर्मलकुमार भाटले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

सो अवसरमा उनले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा सबैले सहयोग गर्न जरुरी रहेको बताए । उनले भने, “कला संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने मान्यताले हामीले होली प्रतियोगिता आयोजना गरेका छौँ । सबैले सहयोग गरे यहाँको कला संस्कृतिको जर्गेना हुनेछ ।” 

उक्त प्रतियोगितामा १२ समूहले नाम दर्ता गराएका छन् । कला र संस्कृति संरक्षणका लागि आयोजना गरिन लागेको उक्त होली प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीय हुनेलाई चार हजार ५०५ तथा तृतीय हुनेलाई दुई हजार ५०५ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । होली देउडा पूर्णिमाको दिनसम्म सञ्चालन गरिने छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले होली देउडा पछिल्लो समय प्रतियोगिताका रुपमा खेल्दै आएका छन् । जिल्लाको पूर्वीचौकी, आदर्श, जोरायललगायतका स्थानीय तहमा होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ भने महिला रातो सारी कम्मरमा सेतो पटुका बाधेर खेल्ने चलन रहेको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीयवासी नरेन्द्रबहादुर खड्काले जानकारी दिए । 

पुराना वीरयोद्धाका गाथामा आधारित गीत समेटेर यहाँ होली खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।