भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैनिक संक्रमणका आधारमा यो अक्टोबर २३ यताकै सबैभन्दा बढी हो । अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा १३ प्रतिशतले संक्रमण वृद्धि भएको छ । यसअघि हिजो भारतमा ४७ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ सय ५१ जनाको मृत्यु भएको छ भने २६ हजार ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड १७ लाख नाघेको छ भने १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ५ करोड ३१ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन् ।

पछिल्लो समय भारतको महाराष्ट्र पन्जाबलगायतका राज्यमा संक्रमण बढिरहेको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै ३१ हजार ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पन्जाबमा २ हजार ६ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।