भारतबाट सुदूरपश्चिम फर्किनेहरूमा दिनहुँ कोरोना संक्रमण, बढ्यो खतरा

भारतबाट सुदूरपश्चिम फर्किनेहरूमा दिनहुँ कोरोना संक्रमण, बढ्यो खतरा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की एक युवतीमा बिहीवार बिहान गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । 

परिवारका सदस्यसँग भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकामा बिहीवार बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका ४ जनामा संक्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउँदले कैलालीको टीकापुरका २ र डोटीका २ जनामा संक्रमण देखिएको बताए ।

‘यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन्,’ अहेव साउँदले भने, ‘सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।’ उनले बुधवार सोही नाकामा परीक्षण गर्दा ८ र मंगलवार ५ जनामा कोरोना देखिएको बताए । ‘१ हप्ताको विवरण हेर्दा २० जनामा संक्रमण देखिएको छ,’ उनले भने, ‘भारतमा संक्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा संक्रमण देखिन थालेको छ ।’

गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरू सिमानाबाट फर्किने क्रम बढेको छ । ‘दैनिक ४०० देखि ५०० नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन्,’ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘सीमामा स्थानीय प्रशासनले भारतको संक्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।’

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरू भए पनि भारतमा संक्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना संक्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए । ‘पूर्वी गौरीफन्टा नाकामा संक्रमण बढी देखिएको छ,’ उनले भने, ‘त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।’ 

गड्डाचौकी नाकामा पछिल्लो समय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ ।

‘सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ,’ प्रमुख सुनारले भने, ‘पञ्जाव, गुजरात र महाराष्ट्र लगायतका क्षेत्रबाट आइरहेकामा शंकास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।’