कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ सुदूरपश्चिममा अपराधजन्य घटनाहरु बढ्दैं

कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ सुदूरपश्चिममा अपराधजन्य घटनाहरु बढ्दैं

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ अपराधजन्य घटनाहरु बढेको बताएका छन । बिहिबार प्रदेश सरकार र सुरक्षा निकाय सँग मानव अधिकार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ अपराधजन्य घटनाहरु वृद्धि भएको बताएका हुन ।

देशमा कानुनको अभाव नभएपनि कानुनको कार्यान्वन पक्ष फितलो हुनाले समस्या रहेको उनले बताए । “देशमा तीनै तहका सरकार छन,’उनले भने,‘कानुनहरु पनि धेरै बनेका छन तर ती कानुनहरु कार्यान्वयन नहुदा समस्या हुदै आएको छ ।” अपराधीलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अपराधजन्य कार्यहरु अन्त्य हुन नसक्ने उनले धारणा व्यक्त गरे ।

त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्थाहरुको प्रयास हुनुपर्ने उनको भनाई छ । देशमा कानुनको अभाव नभएपनि कानुनको कार्यान्वन पक्ष फितलो हुनाले समस्या रहेको उनले बताए । यस्तै मुख्यमन्त्री भट्टले मानव अधिकार उल्लंघनका घटना कमी ल्याउन र मानव अधिकारको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताएका छन ।

यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले शान्ति सुरक्षाको वर्तमान अवस्था थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन । प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उनको भनाई छ । उनले बद्लिदो राजनीतिक परिवेशले सृजित घटनाक्रमको विकास, सबै जस्तो घटनाक्रममा देखा पर्ने अपराध र घटनाहरुको राजनीतिकरण, सामाजिक विकृति र विसंगतिहरु बढ्दै, मादक पदार्थ र लागुऔषधको बढ्दो दुव्र्यसन र सामाजिक सञ्जालको दुरुपयोग लगायतका कार्यहरुले सुरक्षा चुनौती थपिएको उल्लेख गरेका छन ।

यस्ता अपराधजन्य क्रियाकलापमा कमी ल्याउन आफुहरुले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको डीआईजी सुवेदीले जानकारी दिए । यस्तै इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले प्रदेशमा मानव अधिकारको अवस्था अझै पनि सुधार हुन नसकेको जानकारी दिएका छन ।

उनले पनि कानुनहरु प्रशस्त मात्रामा बने पनि कार्यान्वयन भने नभएको बताए । नागरिक कर्तव्य पुरा नहुनु, अधिकारको मात्रै खोजी हुनुका कारणले समाजमा हिंसा द्धन्द्ध र अशान्ति बढ्दै गएको उनको भनाई छ । उनले सन् २०२० मा इन्सेकले गरेको अभिलेख अनुसार १ बर्षमा राज्यबाट ५२ जना र गैरराज्यबाट ६६५ जना पिडित भएको जानकारी दिए ।

जसमध्ये सबैभन्दा बढी महिला ४१९ जना पिडित भएका छन । यस्तै राष्ट्रिय मावन अधिकार सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले मानव अधिकारको अवस्था सुधार ल्याउ सबै पक्षले आ–आफ्नो पक्षबाट सक्दो प्रयास गर्नु पर्नेमा जोड दिएका छन ।