भारतमा कोरोना सङ्क्रमणको नयाँ रेकर्ड : २४ घण्टामा ५९ हजारभन्दा धेरै सङ्क्रमित

भारतमा कोरोना सङ्क्रमणको नयाँ रेकर्ड : २४ घण्टामा  ५९ हजारभन्दा धेरै सङ्क्रमित

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्  । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीवार  ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यस्तै, पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजार ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका महाराष्ट्र, गुजरात, पन्जाब, केरला, मध्यप्रदेश लगायतका ठाउँमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दै गएको छ ।

गएको २४ घण्टामा काेराेना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९८३ पुगेकाे छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।