कोरोनाको लक्षण देखिए १० दिन आइसोलेसनमा बस्नुपर्ने

कोरोनाको लक्षण देखिए १० दिन आइसोलेसनमा बस्नुपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा दैनिक रूपमा ६५ हजारभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा पनि लक्षण भएकालाई अस्पताल र नभएका सङ्क्रमितलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्नुपर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सातवटै मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लक्षण भएकालाई अस्पताल र नभएकालाई अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्न सिफारिस गरेको हो । एकाइका प्रमुख डा. गुणराज लोहनीले अस्पताल र आइसोलेसन सेन्टरमा राखेबापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपियाँ सोधभर्ना स्वास्थ्य मन्त्रालयबाट लिन सकिने जानकारी गराउनुभयो ।

यसैबीच नेपालमा सोमबार थप १४१ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँंंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । यस्तै आइतबार थप ८२ जना सङ्क्रमित निको भएका छन् । योसँंगै नेपालमा निको हुने सङ्ख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ भने क्वारेन्टाइनमा ५६ जना छन् । देशभरका विभिन्न प्रयोगशालामा तीन हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ । विगत चौबिस घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको छ ।