कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

धनगढी । अध्यक्षको निधन भएपछि एक गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्याले जानकारी दिए ।

उनकाअनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको उनले बताए ।

अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्यष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको उनले जानकारी दिए । ७७ वर्षीय अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।