ओलीले एमालेलाई छिन्नभिन्न पार्नकै लागि नेताहरूलाई कारबाही गरेको नेपाल पक्षीय भेलाको निष्कर्ष

ओलीले एमालेलाई छिन्नभिन्न पार्नकै लागि नेताहरूलाई कारबाही गरेको नेपाल पक्षीय भेलाको निष्कर्ष

नेकपा एमालेको खनाल–नेपाल समूहले नेतालाई सोधेको स्पष्टीकरण र कारबाही अध्यक्ष केपी शर्मा ओलीको तानासाही लाद्ने दुराशय भएको बताएको छ ।

नेपाल समूहको बैठकपछि ११ जना नेताले संयुक्त विज्ञप्ति निकालेर नेताहरूलाई झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको भेलाको निष्कर्ष छ ।

माधवकुमार नेपाल र भीम रावललाई भएको कारबाही पार्टीभित्र विचार र सङ्गठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम भएको पनि नेताहरूले बताएका छन् । नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीको निर्णय नमान्ने र पार्टी पनि नफुटाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओली कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने काममा संलग्न रहेर गतिविधि गरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

विज्ञप्तिमा ओली पद र शक्तिमा पुगेपछि निरन्तर नेपाल र नेपाली नागरिकको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने विभिन्न काम भएको आरोप पनि लगाइएको छ ।