पतिपत्नीबीच हुने गरेका खटपटले पारिवारिक सम्बन्ध बिग्रिने सँगसँगै समाजमा समेत अशान्ति मच्चिने गर्छ । यस्तै घटना भारतको राजस्थानस्थित धौलपुरमा भएको छ ।
धौलपुरको भदौरिया पाडा क्षेत्रका युवक लहोरेराम भदौरिया मंगलवार ५० फिट अग्लो पीपलको रुखमा चढे । यो खबर गाउँमा फैलिएपछि भीडभाड जम्मा भयो ।
ती युवकले पीपलको रुखमा चढेपछि आफ्ना दुवै खुट्टा बाँधेका थिए । स्थानीयले ती युवक पीपलको रुखमा चढेको जानकारी प्रहरीलाई दिए । धेरै सम्झाउँदा पनि युवक रुखबाट बाहिर नआएपछि प्रहरी र स्थानीयले उपाय निकाले ।
भूइँमा कपडा बिछाइए, नगरपालिकाको क्रेनसँगै सिँढी लगाएर युवकलाई रुखबाट बाहिर निकालियो । युवकलाई बाहिर निकालेर सोधपुछ गर्दा अचम्मको तथ्य सार्वजनिक भयो । ती युवककी पत्नी २ वर्षदेखि माइतमै बसेकी छन् र घरमा नआएपछि उनलाई तनाव भइरहेको थियो ।
पत्नीलाई घरमा बोलाइदिन उनलाई कसैले पनि सहयोग गरिरहेका थिएनन् । भदौरियाले प्रहरीमा समेत जानकारी गराएका थिए । प्रहरीले पनि सहयोग नगरेपछि दिक्क लागेर पीपलको रुखमा चढेको जानकारी उनले दिएका थिए ।