काठमाडौं सहित देशका अधिकांश भू–भागमा आज कम भयो वायु प्रदूषण

काठमाडौं सहित देशका अधिकांश भू–भागमा आज कम भयो वायु प्रदूषण

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश भू–भागमा आज मौसम सफा रहेको छ । बुधबार साँझ परेको पानीसँगै प्रदूषण कम भएपछि मौसम सफा भएको हो । आज पनि काठमाडौंसहित धेरै ठाउँमा मौसम सफा रहेको मौसमविद् निराजन सापकोटा बताउँछन् । 

डडेलो नलागेको र लागेका ठाउँमा नियन्त्रणमा आएको अवस्थामा आव वायु प्रदूषणको समस्या नहुने तर डडेलो लागेको अवस्थामा पुनः प्रदूषण बढ्ने उनको भनाइ छ । “जंगलमा डडेलो लागेन भने र कतिपय ठाउँमा भइरहेको डडेलो नियन्त्रणमा आएको अवस्थामा अब वायु प्रदूषण हुने छैन,” मौसमविद् सापकोटा भन्छन्, “तर, फेरि पनि डडेलो लाग्यो र त्यसलाइ नियन्त्रणमा ल्याउन सकिएन भने आइतबारबाट पुनः वायु प्रदूषण हुनेछ । पहिलाको जस्तै अवस्था दोहोरिने छ ।”

उनी डडेलो नियन्त्रणमा जोड दिन्छन् । डडेलो लागेको खण्डमा हावाले धुवाँ र धुलो उडाएर ल्याउने र प्रदूषण उच्च हुने उनको भनाइ छ । 

बुधबार पानी परेसँगै वायुमा रहेको उच्च प्रदूषण घट्दै गएको छ ।  आज अपरान्हपछि पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावा रहेको छ । 

काठमाडौंसहित देशका अधिकांश भागमा वायु प्रदूषण उच्च भए पछि सरकरले आजसम्मका लागि चार दिन विद्यालय बन्द गराएको छ । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन भनेको थियो भने निस्किनै परे अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो ।  

वायु प्रदूषणले आँखा चिलाउने, स्वासप्रस्वासमा समस्या हुने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्ने मन्त्रालयले जनाएको थियो ।