प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ ।कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयसमेत गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार बैठकले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो। दिउँसो २ बजे सुरु हुने भनिएको बैठक लामो विवादपछि सवा आठ बजे सुरु भएको हो ।

बैठकअघि कांग्रेस भित्रको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनमा पार्टीले अग्रसरता लिनु पर्ने विषयमा अडान लिएका थिए।

त्यसपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र सिटौलासहितका नेताहरूको आन्तरिक छलफलपछि प्रधानमन्त्रीको राजीनामा माग गर्ने सहमति जुटेको हो।

पौडेल-सिटौलाले सके आफ्नै नेतृत्वमा सरकार बनाउने नसके अन्य दललाई अघि सारेर भए पनि सरकारबाट ओलीलाई बिदाइ गर्नु पर्ने पक्षमा अडान लिएपछि बैठक ढिला गरी सुरु भएको हो।