त्रिनगर नाका हुँदै स्वदेश फर्किएका ५ जना कोरोना संक्रमित नाकाबाटै भागे

त्रिनगर नाका हुँदै स्वदेश फर्किएका ५ जना कोरोना संक्रमित नाकाबाटै भागे

धनगढी । धनगढीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका पाँचजना कोरोना संक्रमित नाकाबाटै भागेका छन्। बिहीबार नेपाल फर्किएका उनीहरु नाकाबाटै फरार भएको त्रिनगर नाकामा सहजकर्ताका रूपमा खटिएका रमित विकले जानकारी दिए ।

‘संक्रमण देखिएकाहरू पनि भागेर जाने गरेका छन्। बिहीबार मात्रै पोजेटिभ देखिएका १६ मध्ये पाँचजना भागेका हुन् । हामीले एम्बुलेन्समा राखेर आइसोलेसन पठाउने भनी रोकेर राखेका थियौं‚' उनले भने,'तर, पजिटिभ देखिएकामध्ये पाँचजना भिडभाडमा कतिबेला कहाँ भागे पत्तो नै पाएनौं। अन्य ११ जनालाई भने आइसोलेसनमा पठाएका छौं।’

अधिकांशलाई कोरोना परीक्षण नगरीकनै घर पठाउने समेत गरिएको छ। पोजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर जानाले कोरोनाको जोखिम उच्च रहेको सहजकर्ता विकले बताए।

चैत ९ यता मात्रै त्रिनगर नाकाबाट चार हजार ५६९ जना भित्रिएका छन् ।तीमध्ये एक हजार २५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको प्रहरीसँग तथ्यांक छ। नाकाको हेल्थ डेस्कमा जनशक्तिको समेत अभाव रहेको छ।