प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा, देलान् राजीनामा ?

प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा, देलान् राजीनामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्।  

यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। ‘राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हरेक दिन राजीनामा माग्या छन्, माग्या छन्। मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ। नागरिक दैनिकमा खबर छ ।