वैदिक वाङ्मयमा नृत्यको स्थान : कसरी उत्पत्ति भयो ‘नाट्यवेद’ ?

वैदिक वाङ्मयमा नृत्यको स्थान : कसरी उत्पत्ति भयो ‘नाट्यवेद’ ?

नृत्यको चलन वैदिककाल भन्दा पहिले पनि उत्पत्ति भएको प्रमाण यजुर्वेदमा पाउन सकिन्छ । हामीले भारत वर्षको आदि ग्रन्थको रूपमा वेदलाई मान्छौं र यो चार भागमा विभाजित रहेको र यो अपौरुषेय रहेको कुरा धेरैले मान्ने गर्छन् । सामवेदले संगीतको उत्पत्ति गरेको मानिन्छ । तर वैदिक वाङ्मयको उद्धरणबाहेक यदि तपाईंले यस विषयलाई अन्वेषणात्मक दृष्टिकोणबाट पछ्याउनु भयो भने वेदलाई ५ किसिमको रहेको तर्क समेत पाउन सकिन्छ ।

चार किसिमको वेद भनेर ऋग्, यजु:, अथर्व र सामलाई सवैले स्वीकार गर्छन् । तर पञ्चमवेद भनेर भने सबैले आफूसँग सम्बन्धित शास्त्रलाई मान्ने गर्छन् । कसैले गीतालाई पञ्चमवेद भनेर मान्छन् भने कसैले अरू शास्त्रलाई । नाट्यशास्त्रका प्रणेता भरतमुनिले नाट्यशास्त्रलाई नै पञ्चमवेद भनेका छन् । भरतले भनेका छन् –

श्रूयतां नाट्यवेदस्य सम्भवो ब्रह्मनिर्मितः। नाट्यशास्त्रम् अध्याय-११, श्लोक सं. ७

अर्थात् ब्रह्माजीद्वारा निर्मित नाट्यवेदको उत्पत्तिको कारण स्पष्ट गर्दै देवराज इन्द्रको प्रार्थनामा ब्रह्माजीले पञ्चमवेदको रूपमा नाट्यवेदको सृष्टि गरे ।

यसबारेमा भरतले लेखेका छन् –

क्रीडनीयकमिच्छामो दृश्यंश्रव्यं च यत्भवेद्।

यो जम्बुद्वीप, जसको लोकपालले सुरक्षा गर्थे, राक्षस, गन्धर्व, यक्ष, र उरगहरू अर्थात् नागहरूले घेरेका थिए । यस्तो अवस्था देखेर ईश्वरको नेतृत्वमा देवताहरूले पीतामह ब्रह्माजीसँग बिन्ती गरेर भने – हे पितामह ! हामी मनोरञ्जनको त्यस्तो रचनात्मक साधनहरू राख्न चाहन्छौं, जसमा दृश्य, अर्थात् सुन्न सकिने तत्त्व र देख्न पनि सकिने तत्वको समेत सन्निहित होस् ।

न वेदव्यवहारोऽयं संश्राव्यंः शूद्रजातिषु।
तस्मात्सृजापरं वेदं पञ्चमं सार्ववर्णिकम्।।

शूद्र वर्णको मानिसहरूका लागि वेद अनुमन्य छैन । त्यसैले एउटा कृपा गरेर यस्तो वेदको रचना गरिदिनुहोस् जसलाई सबैले प्रयोग गर्न सकून् । भरतमुनिले पञ्चमवेदको गुणहरूको बखान गर्दै श्रोता ऋषिहरूलाई स्पष्ट पारेका थिए कि यस पञ्चमवेद सबै शास्त्र र सबै शिल्पहरुको लागि खुला गरिएको छ ।

सर्वशास्त्रार्थसम्पन्नं सर्वशिल्पप्रवर्तकम्।
नाट्यारव्यं पंचमं वेदं सेतिहासं करोम्यहम्।।
एवं संकल्प्य भगवान् सर्ववेदाननुस्मरन्।
नाट्यवेदं ततश्चक्रे चतुर्वेदांगसम्भवम्।। नाट्यशास्त्र, अध्याय- १, श्लोक १५ तथा १६

त्यसपछि उनले विचार गरेर निश्चय गरे कि – म नाट्यमाथि पञ्चमवेदको रचना गर्छु । जसले धर्म, अर्थ र प्रसिद्धि प्रदान गर्छ । जुन सर्वहीतकारी संग्रह हुनेछ, जुन भविष्यको मानव जातिको लागि सन्मार्ग प्रदर्शन गर्न सहायकसिद्ध हुनेछ, जुन सबै शास्त्रहरूको ज्ञानले भरिनेछ र सबैमा सबै शिल्पहरू प्रतिबिम्बित हुनेछ । त्यस्तो संकल्प गरेर भगवान् ब्रह्माले सबै वेदलाई सम्झे र नाट्य वेदको निर्माण गरे, जुन चारवटा वेदका अंशहरू समन्वय गर्दै गरिएका थिए ।

नाट्यवेदको सम्बन्धमा श्रोता मुनिहरूले भरतमुनिलाई यो पनि भनेका छन् कि –

न तज्ज्ञानं न तच्छिल्पं न सा विद्या न सा कला।
नासौ योगो न तत्कर्म नाट्येऽस्मिन यन्न दृष्यते।। नाट्यशास्त्र, अध्याय-१, श्लोक-११६

अर्थात् कोही ज्ञान यस्तो छैन । कोही शिल्प यस्तो छैन । न कोही विद्या अथवा कला नै यस्तो खालको छ । कुनै योग अथवा कर्म यस्तो छैन, जुन नाट्यमा प्रयुक्त भएर नदेखिएको होस् ।

भरतमुनिले लेखेको नाट्यवेदको जुन इतिहास लेखेका छन् । त्यो समयमा कलियुगको सुरुवात भएको थियो । त्यस समय भारतमा चार वेद द्विजातीय थिए। त्यतिबेला वेदलाई केवल ब्राह्मण र क्षत्रीयहरुलाई मात्रै पढ्ने र सुन्ने अधिकार थियो। शुद्रले उनलाई सुन्न र पढ्न पाउने अवस्था थिएन । त्यसकारण ब्रह्माजीले सबै वर्ग र सबै वर्णका मानिसको पहुँच हुने गरी नाट्यावेदको रचना गर्न दबाब परेको थियो । पछि ब्राह्मणहरूले यसलाई वेद भन्न मनपराएनन्, त्यसैले उनीहरूले यसलाई शास्त्र नाम दिए र सुरुमा यसलाई भरतशास्त्र भनियो। पछि यसलाई नाट्यशास्त्र भनियो तर यसमा गायन, बजाउने, नाच गर्ने, अभिनय गर्ने, रस र भव तथा नाटकीय संरचनाको अनन्त सिद्धान्तहरू थिए । जसका कारण यो अमर ग्रन्थको रूपमा विकास भयो ।

नाट्यास्त्र पूर्वीय संस्कृतिको स्वर्णीम सम्पदा हो । नाट्यशास्त्र कुनैपनि व्यक्तिको सिर्जना वा कुनै कालको रचना होइन भन्ने मत पनि पाउने गरिन्छ । सयौं भरतहरूले विभिन्न कालखण्डमा यसको रचनामा योगदान दिएका छन् । भरत, जो विभिन्न विषयहरूमा विशेषज्ञ थिए, यसमा सबैले आफ्नो ज्ञान थपे । यो तीन चरणमा लेखिएको थियो। पहिले यसका सूत्रहरू सिर्जना गरिएका थिए, त्यसपछि दोस्रो चरणमा यसको गद्य रचना थपिएको थियो र अन्तिम चरणमा सुरुका पाँच अध्याय र अन्तिम दुई अध्यायहरू लेखिएका थिए भन्ने मान्यता छ ।