प्रहरी नियमावली संशोधन हुँदै : इन्स्पेक्टर र असइको पदपूर्ति ५०/५० प्रतिशतको अनुपातमा हुने

प्रहरी नियमावली संशोधन हुँदै : इन्स्पेक्टर र असइको पदपूर्ति ५०/५० प्रतिशतको अनुपातमा हुने

प्रहरी नियमावली संशोधन हुने भएको छ । जुनियर प्रहरी अधिकृत बढुवाको हकमा नियमावली संशोधन हुन लागेको हो । संशोधनपछि रिक्त पदमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । जुनियर प्रहरी अधिकृतको हकमा रिक्तमध्ये ५० प्रतिशत पदपूर्ति अन्तरिक र ५० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ । गृह मन्त्रालयले सोहीअनुसार संशोधित नियमावलीको मस्यौदा अघि बढाएको छ ।

गृह प्रवक्ता चक्रबहादुर बुढाले जुनियर प्रहरी अधिकृत बढुवाको हकमा संशोधित नियमावलीको मस्यौदा अघि बढेको जानकारी दिए । ‘नेपाल प्रहरीमा विशेष गरी जुनियर प्रहरी अधिकृतको बढुवाको हकमा केही समस्या थियो । यसलाई केही हदसम्म समाधान गर्न मस्यौदा संशोधन हुने भएको छ । छलफलपछि प्रक्रिया अघि बढेको छ । त्यसको स्वरूपबारे केही समयपछि सार्वजनिक होला,’ उनले भने ।

हाल प्रहरी नियमावली ०७१ अनुसार जुनियर प्रहरी अधिकृतको पदपूर्ति हुँदै आएको छ । प्रहरीमा असइ र सइलाई जुनियर प्रहरी अधिकृत मानिन्छ । नियमावलीअनुसार असइ र इन्स्पेक्टरको पदपूर्ति आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुँदै आएको छ । यसका लागि नेपाल प्रहरीले ६० र ४० को अनुपातलाई आधार मानेर पदपूर्ति गर्दै आएको छ । जसअनुसार रिक्तमध्ये ४० प्रतिशत आन्तरिक बढुवा र ६० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुँदै आएको छ ।

साविककै नियमावलीलाई निरन्तरता दिँदा जुनियर प्रहरी अधिकृतको बढुवा प्रणालीमा थप जाम हुन सक्ने देखिएपछि गृहले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो ।

साढे चार हजार सइ र १० हजार हवल्दार बढुवाको लाइनमा

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा हाल चार हजार पाँच सयभन्दा धेरै सइ बढुवाको लाइनमा छन् । लाइनमा रहनेमध्ये कतिपय सइ १८ वर्षदेखि एउटै पदमा कार्यरत छन् । त्यस्तै, बढुवाको पर्खाइमा रहेका प्रहरी हवल्दारको संख्या १० हजारभन्दा धेरै छ । उनीहरू पनि १३ वर्षदेखि एउटै पदमा कार्यरत छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले एउटै पदमा लामो समयदेखि कार्यरत जुनियर प्रहरी अधिकृतको संख्या धेरै रहेको बताए । ‘जुनियर प्रहरी अधिकृतको बढुवामा समस्या छ । यो गाँठो फुकाउन आवश्यक छ । बढुवामा समस्या भएका कारण एउटै व्यक्ति १८ वर्षदेखि एकै पदमा कार्यरत रहनुपर्ने अवस्था छ । उदाहरणका लागि सइलाई लिन सक्छौँ,’ उनले भने ।

जुनयर प्रहरी अधिकृतको बढुवा प्रणालीमा समस्या देखिएपछि प्रहरी प्रधान कार्यालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न पाउने गरी नियमावली संशोधन गर्न गृह मन्त्रालयलाई प्रस्ताव गरेको थियो । तर, गृहले त्यसको ठाउँमा ५०÷५० प्रतिशतको अनुपातलाई आधार मानेर नियमावली संशोधन गर्न मस्यौदा अघि बढाएको छ । 

गृहका अनुसार संशोधित मस्यौदा कानुन मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगेको छ । अर्थबाट स्वीकृत भएलगत्तै मस्यौदाले कानुनी रूप पाउनेछ । त्यसपछि नेपाल प्रहरीमा जुनियर प्रहरी अधिकृतको बढुवा संशोधित नियमावलीअनुसार नै हुनेछ । 

नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरको सय दरबन्दी रिक्त छन् । उक्त पदको पूर्ति संशोधित नियमावीअनुसार गर्न नेपाल प्रहरी लागेको छ । त्यसो हुँदा अब ५० पदको पूर्ति अन्तारिक बढुवा प्रक्रियाबाट हुनेछ । बाँकी ५० पदको पूर्ति भने खुला प्रतिस्पर्धाबाट हुनेछ । बढुवा नहुँदा ३० महिनाभित्र

६ हजार जुनियर प्रहरीले छाडे जागिर 
नेपाल प्रहरीमा करिब ८० हजार सुरक्षाकर्मी कार्यरत छन् । समयमै वृत्ति विकास नहुँदा जुनियर तहका धेरै प्रहरी अधिकृतले राजीनामा गरी सेवा छाड्दै आएका छन् । तथ्यांकअनुसार गएको ३० महिनायता मात्रै नेपाल प्रहरीबाट ६ हजार ३८ जनाले अवकाश लिएका छन् । जसमध्ये ९९.३२ प्रतिशत जुनयिर तहका प्रहरी कर्मचारी छन् । अर्थात् राजीनामा दिने कुल प्रहरी कर्मचारीमध्ये पाँच हजार नौ सय ९७ जुनियर तहका प्रहरी कर्मचारी छन् । त्यसमा पनि सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । त्यसपछि जवान, असइ र सइ तहका प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । -
नयाँपत्रिकाडेलीमा टेकराज थामी ले लेखेका छन् ।