काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले आइतवार एक विज्ञप्ति प्रकाशित गर्दै मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन् ।
मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गरेका छन् ।
आइतवार गैँडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारूको बाघले आक्रमणबाट मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।