काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको वायु प्रदूषणको तह उच्च रहेकाले सावधानी अपनाउनुको विकल्प नरहेको जनस्वास्थ्यविदले बताएका छन् ।
केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेको हो ।
डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित भएको हो ।
अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (वायुको गुणस्तर सूचांक) ३१७ रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।
५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।
गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो। तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो।
हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित काठमाडौँसहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको हप्ता अवस्था अति नाजुक भएको थियो। अहिले फेरि अवस्था उस्तै बन्दै गएको छ ।
अहिले देशभरका २३५ स्थानमा डढेलो सक्रिय अवस्थामा छ ।
मौसमविद राजु प्रधानाङ्गका अनुसार प्रि मनसुनी गतिविधि सक्रिय नभएकाले तत्काल वायुमण्डलमा रहेको प्रदूषण गराउने तत्व पखाल्ने गरि पानी पर्ने सम्भावना छैन ।
यस्तै वायुमण्डलमा रहेको धुलोका कणसहितका प्रदूषण बढार्ने गरि हावा चल्ने सम्भावना पनि नरहेको उनले बताए ।
तत्कालका लागि वायु प्रदूषणबाट हुन सक्ने हानीबाट जोगिनका लागि सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताएका छन् ।
जनस्वास्थ्यविदका अनुसार बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वास सम्बन्धी रोग भएकाहरुलाई बढि हानी हुन्न सक्छ । जोगिनका लागि मास्क लगाउने, चस्मा लगाउने, आवश्यक नपरी घर बाहिर ननिस्कनेसहितका उपाय अपनाउन सकिने उनीहरुले बताएका छन् ।