माइतीमा छोरी रोकेको निहुँमा सासु-ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा सासु-ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक जना ज्वाँईले सासु–ससुरा माथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् । नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोका मगर र ५५ वर्षीया सासु लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो ।

गए राति ३ बजेतिर घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई प्रहरीले नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ । सासु–ससुरा माथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजार तर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

आरोपित अनराम बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरी निरीक्षक सुनारले बताए । खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरमुक्त रहेको डा. जीवन ज्ञवालीले जानकारी दिए ।

अनराम रोकामगरले झपिलाल र लालसरीको माइली बिमलालाई ९ वर्ष अघि प्रेमविवाह गरेका थिए । दिनहु मदिरा खाइपान गरेर घरमा कुटपिट गर्ने गरेको भन्दै ३ महिनादेखि एक छोरा र छोरी सहित बिमला माइतीमा बसेको विषयमा रिस पोख्न आफूले खुकुरी प्रहार गरेको अनरामले प्रतिक्रिया दिएका छन् । बिमला र छोराछोरीलाई घर लैजाने सल्लाहका लागि पुगेको बेला दुई महिना पहिले माइती घरमै बिमला माथि कुटपिट गरेको घटनामा झपिलालले ‘तिमीसंग अव छोरी पठाउँदिन्’ भनेको विषयमा अनराम क्रुद्ध भएका थिए ।

राति मस्त निद्रामा भएको बेला राति ३ बजे ससुरा झपिलालले ओडेको सिरक हटाएर एक्कासी टाउको प्रहार गर्न लागेको खुकुरी ओछ्यानमै हातले छेकेको कारण टाउकोमा कम थोरै मात्र काटेको छ । चोट लागिसकेपछि पनि उठिसकेपछि गर्धनमा ताकेको दोश्रो चोट जोगाउदै पनि छातिमा लागेको झपिलालले सुनाए ।

दोश्रो चोट लागि सकेपछि तेश्रो प्रहार तयार गर्न नपाउदै ससुरा झपिलाल र सासु लालसरी दुबै जनाले अनरामको हातको खुकुरी खोस्न खोज्न दुबै जनाको हत्केला काटे लगतै आरोपित अनराम भागेका थिए । दोश्रो चोटपछि लालसरीले गाउँ गुहार मागेपछि छिमेकीको चहल पहल सुरु भएपछि खुकुरी लिएरै उनी भागेका प्रत्यक्षदर्शी प्रेम रोकामगर बताए ।

गाउँका मान्छेहरु जम्मा थालेपछि खुकुरी देखाएर भाग्दै गर्दा घटनास्थलदेखि पाँच सय मीटर टाढा निगालाको झाँगमा खुकुरी फालेर मुलबाटोबाट भागेको उनले प्रहरीलाई बताएका छन् । अनराम र उनको ससुराली घर १ घण्टाको पैदल दुरीमा रहेको छ । -नेपाल घटना