पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं | नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासङ्घको चुनाव आज हुँदै छ। बिहान  ९ बजेदेखि ५ बजे सम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ। महासङ्घको केन्द्र, प्रदेश,  प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा  १३ हजार १२२ मतदाता छन्।

 प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ। मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ। कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिले बताएको छ । सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ। प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ।

एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ। त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ।  जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुने छ। मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ। यसपटकको  महासङ्घको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन्। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ।

केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ। महासङ्घको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ। अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन्। कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन्।