नेपाली जेलमा ४४ देशका १२ सय विदेशी कैदीबन्दी, सबैभन्दा धेरै भारतीय

नेपाली जेलमा ४४ देशका १२ सय विदेशी कैदीबन्दी, सबैभन्दा धेरै भारतीय

काठमाडौं । देशभरका जेलमा झन्डै एक हजार दुई सय विदेशी कैदबन्दी छन् । कारागार व्यवस्थापन विभागको तथ्यांक अनुसार हाल देशभर सञ्चालित जेलमा एक हजार एक सय ९३ जना विदेशी मुलुकका नागरिक छन् ।

विभागबाट प्राप्त तथ्यांक अनुसार ४२ मुलुकका ती नागरिक कैदीबन्दीका रुपमा नेपाली जेलमा सजाय भुक्तान गरिरहेका छन् ।
हाल देशभर ७४ वटा जेल सञ्चालनमा छन् । तर, त्यसमध्ये ५२ जेलमामात्र ती विदेशी नागरिक छन् । बाँकी २२ जेलमा भने विदेशी नागरिक छैनन् ।

विदेशी नागरिक नभएका जेलमा तेह्रथुम, धनकुटा, सर्लाही, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गुल्मी, रोल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, बाजुरा, बझाङ, डोटी तथा अछाम छन् ।

नेपाली जेलमा सबैभन्दा धेरै भारतीय कैदीबन्दी

नेपाली कारागारमा रहेका कैदीबन्दीमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । कुल विदेशी कैदीको ८६.१६ प्रतिशत कैदीहरू भारतीय मुलका रहेको विभागको तथ्यांकले देखाउँछ । हाल देशभरका कारागारमा एक हजार २८ भारतीय नागरिक कैदीबन्दी छन् ।

खुल्ला सिमाना भएका कारण सजिलै नेपाल प्रवेश गर्न सकिने र आपराधिक क्रियाकलापमा संलग्न हुने भएकाले नेपालमा भारतीय मुलका कैदीबन्दीको संख्या सबैभन्दा धेरै देखिन्छ ।

भारतीय कैदीबन्दीहरूको सबैभन्दा ठूलो संख्या पर्सा कारागारमा छ । नेपालमा रहेका भारतीय मुलका कैदीबन्दीहरूमध्ये एक सय ९६ जना पर्सा कारागारमा छन् ।

विदेशी कैदीबन्दी रहेका सबै कारागारमा भारतीय कैदीबन्दी रहेको विभागको तथ्यांकले देखाउँछ । पर्साबाहेक ललितपुरस्थित नख्खु कारागारमा ९८, केन्द्रीय कारागार जगन्नाथ देवलमा ७४, मकवानपुरस्थित कारागारमा ७५, डिल्लीबजार कारागारमा १३, कास्की कारागारमा २८, कैलीली कारागारमा ३०, कञ्चनपुर कारागारमा ९, डडेल्धुरा कारागारमा २ र दैलेख कारागारमा २ जना भारतीय कैदीबन्दी छन् ।

त्यस्तै, बर्दिया कारागारमा ८, बाँके कारागारमा ५८, दाङको घोराही कारागारमा ४ तथा तुलसीपुर कारागारमा ७, पाल्पा कारागारमा १२, कपिलवस्तु कारागार २६, रुपन्देही कारागारमा २३, नवलपरासी पश्चिम कारागारमा २३, पर्वत कारागारमा २, तनहुँ कारागारमा २, चितवन कारागारमा २५ जना, धादिङ कारागारमा १३, सिन्धुपाल्चोक कारागारमा २ जना भारतीय कैदीबन्दी छन् ।

भारतीय कैदीबन्दी भएका अन्य कारागार अन्तर्गत काभ्रेपलाञ्चोक कारागारमा २, सिन्धुली कारागारमा १२, रामेछाप कारागारमा ११, रौतहट कारागारमा २७, महोत्तरी कारागारमा २४, सिराहा कारागारमा १२, सप्तरी कारागारमा १९, सुनसरी कारागारमा ६०, मोरङ कारागारमा ५७, इलाम कारागारमा ७ र झापा कारागारमा ५० जना कैदीबन्दी छन् ।

रसुवा, ताप्लेजुङ, इलाम, संखुवासभा , तेह्रथुम , खोटाङ , सोलुखुम्बु , ओखलढुंगा , उदयपुर, दोलखा, नुवाकोट, गोरखा, स्याङ्जा, अर्घाखाँची, सुर्खेत र दार्चुलाका कारगाारमा एक–एक जना भारतीय कैदीबन्दी छन् ।

नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीको संख्याको आधारमा भुटानी मुलका कैदीबन्दीहरूको दोस्रो नम्बरमा पर्छन् । देशभरका कारागारमा कुल २९ जना भुटानी मुलका कैदीबन्दी छन् । जसमा सबैभन्दा धेरै मोरङ कारागारमा १० जना भुटानी कैदीबन्दी छन् ।

यसबाहेक झापा कारागारमा ८, सुनसरी कारागारमा ७, इलाम, केन्द्रीय कारागार जगन्नाथ देवल, लमजुङ र ललितपुरको नख्खु कारागारमा १–१ जना भुटानी मुलका कैदीबन्दी छन् ।

त्यस्तै, १९ कैदीबन्दी चिनियाँ मुलका छन् । जसमा केन्द्रीय कारागार जगन्नाथ देवलमा १४, नख्खु कारागारमा ४ र डिल्लीबजार कारागारमा एक जना चिनियाँ मुलका कैदीबन्दी छन् ।

नेपाली जेलमा पाकिस्तानी कैदीबन्दकिो संख्या १७ छ । जसमा केन्द्रीय कारागार जगन्नाथ देवलमा ११, पर्सा र डिल्लीबजार कारागारमा २–२ तथा नख्खु र मकवानपुर कारागारमा १–१ जना पाकिस्तानी कैदीबन्दी छन् ।

त्यस्तै, ९ जना कैदीबन्दी बंगलादेशी मुलका छन् । जसमा केन्द्रीय कारागार जगन्नाथदेवलमा ५ र डिल्लीबजारस्थित कारागारमा ४ जना छन् । नेपाली जेलमा रहेका अमेरिकी मुलका कैदीबन्दीको संख्या ३ छ । तीमध्ये झापामा एक जना र केन्द्रीय कारागार जगन्नाथदेवलमा २ जना छन् ।

त्यस्तै, नाइजेरिया र बोलिभियाका ८–८ कैदीबन्दी नेपाली जेलमा छन् । तान्जानिया र फ्रान्सका ५–५, जर्मनी, रोमानिया, मलेसिया र थाइल्याण्डका पनि ४–४ तथा दक्षिण अफ्रिका र वेलायतका ३–३ जना कैदीबन्दी नेपाली जेलमा छन् । त्यस्तै, अष्ट्रिया, इरान, नाइजेरिया, नेदरल्यान्ड, आइभोरिकोष्ट, वेलारुस र अफ्रिकाका २–२ जना कैदीबन्दी छन् ।

यी बाहेक डेनमार्क, पपुवा न्युगिनी, सेनेगल, सिंगापुर, रसिया, जोर्डन, म्यानमार, टोगो, सर्विया, साउदी अरब, जाम्बिया, पोर्चुगल, ब्राजिल, जापान, नमेबिया, फिलिपिन्स, भेनेज्वेला, दक्षिण कोरिया, स्पेन र मालीका १–१ नागरिक नेपालका कारागारमा कैदीबन्दीको रुपमा छन् ।

यस बाहेक देश खुल्न नसकेका अन्य ३ जना पनि नेपालका कारागारमा रहेका छन् । सबैभन्दा धेरै विदेशी कैदीबन्दी पर्सामा, जगन्नाथ देवलमा सबैभन्दा धेरै देशका

नेपालका विभिन्न ५५ वटा कारागारमा विदेशी कैदीबन्दी छन् । यीमध्ये सबैभन्दा धेरै विदेशी कैदीबन्दी पर्सा कारागारमा छन् । केन्द्रीय कारागार विभागको फागुन मसान्तसम्मको तथ्यांक अनुसार पर्सा कारागारमा एक सय ९६ भारतीय नागरिक पर्सा कारागारमा छन् ।

भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले यहाँ भारतीयहरूको आपराधिक गतिविधि बढी देखिन्छ । सबैभन्दा धेरै देशका कैदीबन्दी भने केन्द्रीय कारागार जगन्नाथ देवलमा छन् । यहाँ भारतसहित ३७ विभिन्न देशका कैदीबन्दी रहेको विभागको तथ्यांकले देखाउँछ ।

जगन्नाथ देवलमा भारतीय मुलका ७४ कैदीबन्दी छन् । त्यस्तै, चीनका १४, बोलिभियाका आठ, पाकिस्तानका ११, बंगलादेशका पाँच, फ्रान्स, मलेसिया र थाइल्यान्डका ४–४, नाइजेरियाका तीन र अमेरिका, नेदरल्यान्ड, आइभरी कोष्ट, बेलारुस, जर्मन र दक्षिण अफ्रिकाका २–२ जना यो कारागारमा छन् ।

यसैगरी माली, भुटान, सिंगापुर, रुस, जोर्डन, अष्ट्रेलिया, म्यानमार, टोगो, सर्विया, इरान, साउदी अरब, जाम्बिया, पोर्चुगल, ब्राजिल, जापान, नमेबिया, फिलिपिन्स, भेनेजुयला, बेलायत, दक्षिण कोरिया, स्पेन र अफ्रिकाका १–१ जना, कैदीबन्दी छन् ।

यस बाहेक देशको नाम खुल्न नसकेको ३ जना कैदी बन्दी पनि यहाँ रहेको विभागको तथ्यांकले देखाउँछ ।

त्यस्तै, विदेशी कैदी धेरै रहेको अन्य कारागारमा ललितपुरको नख्खु कारागार हो । त्यहाँ एक सय २६ जना विदेशी कैदीबन्दी छन् । यसैगरी मकवानपु कारागारमा ७६, सुनसरी र मोरङ कारागारमा ६७–६७ जना विदेशी कैदीबन्दी छन् । -नेपालवाचबाट