प्रतिनिधिसभाको बैठकमा विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठकमा विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।

यो विधेयकप्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोध भए पनि संसदीय समितिको बहुमतले पारित गरेको यो विधेयक पारित भएको १५ दिनपछि प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।

यसअघि २०७६ सालको पुस १३ गते बसेको विकास तथा प्रविधि समितिले कांग्रेसका सांसदको विरोधका बाबजुद विधेयकलाई बहुमतको आधारमा पारित गरिएको थियो । यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मधेशी आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस हुँदैछ। यी दुई प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पेस हुने सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले पूर्व सांसद ऐश्वर्यलाई प्रधानाङ्गको निधनमा शोक प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची रहेको छ ।