निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू

निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू

वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १  र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ ।

सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बनाइदिन विहीबार आग्रह गरेको थियो । मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएको भेटमा सहभागी प्रतिनिधि टोलीका सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए ।

संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो । वातावरण प्रभाव मूल्यांकन पनि हुँदै गर्छ । काम पनि नरोकौं । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ । जनताको काम हो । यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ ।’

मन्त्रीसँगको टेलिफोन सम्वादमा संरक्षण अधिकृत बरालले फास्ट ट्र्याकबाट वातावरणीय प्रभाव मूल्यांकन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर मन्त्री आलेले वातावरणीय प्रभाव मूल्यांकन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए ।

प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो । निकुञ्जले सडक निर्माणमा अवरोध पु¥याएको भन्दै ठेकदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिँडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।