जुम्लाका दुर्गा बुढाले जिते धनगढी हाफ म्याराथन २०२१ को उपाधि !

जुम्लाका दुर्गा बुढाले जिते धनगढी हाफ म्याराथन २०२१ को उपाधि !

धनगढी। अब धनगढी दौडिन्छ भन्ने मूल नाराका साथ धनगढी जेसीजले आयोजना गरेको सातौँ संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन् ।

२१ दशमलव १ किलोमिटर को दुरी उनले १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधि हो । उपाधि सँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरे ।

त्यस्तै निर्धारित दुरी १ घण्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेन्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोस्रो भए भने सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए । उनले २१ दशमलव १ किलोमिटर को दुरी १ घण्टा १२ मिनेट ०४ दशमलव २७ सेकेन्डमा पार गरे । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ समेत प्राप्त गरेका छन्।

यसै गरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फको उपाधि कैलाली कि सीमा चौधरीले प्राप्त गरिन उनले उक्त दुरी २० मिनेट दशमलव ११ सेकेन्डमा पूरा गरिन । उपाधि सँगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरिन ।

त्यस्तै सीता चौधरी दोस्रो र नुहा खड्का तेस्रो भए । चौधरीले निर्धारित दुरी २० मिनेट ४४ दशमलव २८ सेकेण्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेन्डमा पूरा गरेका थिए । उपाधि सँगै दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैयाँ र २ हजार २ सय २२ रुपैयाँ नगद प्राप्त गरे ।

धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका विजेता खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन्।