१४औँ संस्करणको इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटअन्तर्गत शनिबारको खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
चेन्नई महेन्द्रसिंह धोनी र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछन् । ऋषभले पहिलोपटक दिल्लीको कप्तानी सम्हाल्दैछन् । चेन्नईलाई आज धोनीसहित फाफ डुप्लेसिस, सुरेश रैना, रविन्द्र जडेजा, इम्रान ताहिर जस्ता खेलाडीको साथ रहने छ ।
आजको खेलमा आफ्ना मुख्य बलर कागिसो रबाडा र एनरिच नोत्जेबिना मैदानमा उत्रिने दिल्लीलाई ऋषभ सहित शिखर धवन, मार्कस स्टोनिस, अजिन्क्या राहणे, रविचन्द्रन आश्विन जस्ता खेलाडीको साथ रहने छ ।
हालसम्म यी दुई टोली २३ खेलमा आमनेसामने हुँदा चेन्नईले १५ र दिल्लीले ८ खेल आफ्नो पक्षमा पारेका छन् ।पछिल्ला पाँच खेलमा पनि चेन्नई बलियो स्थितिमा देखिन्छ । उसले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ ।
गत संस्करणमा भएका दुई भेटमा भने दुवै खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो ।