'‘लभ परेको जोडीको अदालतले डिभोर्स गरिदियो, दुलहा-दुलही रुँदै आ-आफ्नो घरमा’'

'‘लभ परेको जोडीको अदालतले डिभोर्स गरिदियो, दुलहा-दुलही रुँदै आ-आफ्नो घरमा’'

नेकपा खारेज गरी एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वाेच्चको फैसला लभ परेका श्रीमान–श्रीमतीको डिभोर्स गरिदिएको जस्तै भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

शनिबार पार्टी कार्यालय पेसिरडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने गरेको फैसला अस्वभाविक भएको टिप्पणी गर्दै उनले सर्वाेच्चको गलत फैसलाका कारण एकमत रहेको पूर्व एमालेको माधव नेपाल पक्ष र आफूहरुलाई छुट्टिन बाध्य पारेको भनाइ राखेका हुन् । 

 ‘हाम्रो बडो लभ परिरहेको थियो’ प्रचण्डले भने,‘तपाईंहरूले देख्नुभयो नी, २८ गतेको आमसभामा म कसरी बोलेँ, माधवजी कसरी बोल्नुभयो। झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिने थिएन नी त। लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ?’

लभ परिरहेकोलाई डिभोर्स गरिदिनु प्राकृतिक रुपमा पनि अन्याय भएको टिप्पणी गरेका छन् । ‘अहिले दुलहा दुलही रुँदै रुँदै आआफ्नो घरमा छन्’उनले भने । फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नु आवश्यक रहेको भनाइ प्रचण्डले राखे। 

यसै कार्यक्रममा बोल्दै उनले केही दिनमै नयाँ सरकार गठन हुने दावी समेत गरे ।