प्रेस युनियन कैलालीले महासंघका नव निर्वाचित पदाधिकारीलाई स्वागत गर्‍यो

प्रेस युनियन कैलालीले महासंघका नव निर्वाचित पदाधिकारीलाई स्वागत गर्‍यो

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटि र कैलाली शाखामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा धनगढीमा एक समारोहको आयोजना गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक लालबहादुर ऐरी र वरिष्ठ पत्रकार करुणाकर पाण्डेयले टिका तथा दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रदेश संयोजक ऐरीले महासंघलाई संस्थागत बनाउनतर्फ निर्वाचित पदाधिकारीहरुले पहल गर्नुपर्ने बताए। उनले भने –‘विगतदेखिनै महासंघलाई संस्थागत बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त भए तर, अहिलेसम्म त्यो हुन सकेको छैन।’

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि ११ संगठनसंग गठबन्धन गरेर अघि बढ्नुपरेको बताए । उनले भने –‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गतिविधीका कारण प्रेस स्वतन्त्रता र लोकतन्त्रनै धरापमा परेको छ । यसको रक्षाका लागि पनि सबैसंग गठबन्धन गरेर अघि बढेका हौं ।’

वरिष्ठ पत्रकार करुणाकर पाण्डेयले निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिदै महासंघलाई राम्रो बनाउनतर्फ सबै लाग्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सुदूरपश्चिम प्रदेश सदस्यमा निर्वाचित भरत शाह, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्ष पदमा निर्वाचित योगेश रावल, उपाध्यक्ष योगेन्द्र बलायर लगायत निर्वाचित प्रदेश कमिटिका पदाधिकारी र सदस्यका साथै कैलाली शाखामा संयूक्त गठबन्धनबाट निर्वाचित सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रेस यूनियन कैलाली शाखाका महिला उपाध्यक्ष भावना जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए ।