काठमाडौंको ट्रमा सेन्टरमा २३ वर्षीया युवतीको पेटबाट निकालियो ३३ किलोको ट्युमर

काठमाडौंको ट्रमा सेन्टरमा २३ वर्षीया युवतीको पेटबाट निकालियो ३३ किलोको ट्युमर

काठमाडौंको ट्रमा सेन्टरमा २३ वर्षीया युवतीको पेटबाट ३३ किलोको ट्युमर निकालिएको छ। दुई वर्षअघिसम्म सामान्य अवस्थामा रहेकी सोलुखुम्बुकी २३ वर्षीया छिमी शेर्पाको पेटमा बढ्दै गएको ट्युमर शल्यक्रियाबाट निकालिएको हो। 

१५ जना विशेषज्ञ डाक्टरले १५ घण्टा लगाएर छिमीको जटिल शल्यक्रिया गरेका हुन्। उक्त शल्यक्रियामा मस्कुलोसकेटल अंकोलोजी, सर्जिकल अंकोलोजी, गाइनो अंकोलोजी, युरो अंकोलोजी, सिटिभिएस, एनेस्थेसियासहितको टिम लिडरहरु सहभागी थिए।​

छिमीको शल्यक्रियामा डा. ऋषिराम पौडेल, डा. जनिथ सिंह, डा. वसन्त महर्जन, डा. लोकेश झा, डा. कपेन्द्रशेखर अमात्य, डा. हेमन्त बटाजो, डा. अतिश डि ब्रजाचार्य, डा. अन्जु श्रेष्ठ, डा. सिर्जना लामा, डा. रबिन जोशी, डा. इसान मल्ल, डा. सम्पूर्णमान तुलाधर, डा. सुनिता मलेखु, डा. मदिन्द्र बस्नेत, डा. दिपक अधिकारी, स्टाफ नर्स, क्रिटिकल केयरलगायतको टिम संलग्न थिए।

उनलाई १५ घण्टाको अपरेशनपछि एक दिन भेन्टिलेरमा राखिएको थियो। हाल घरमै आराम गरिरहेकी उनी स्वस्थ्य छिन्। उनले डाक्टरप्रति आभार व्यक्त गर्दै आफूले नयाँ जीवन पाएको बताएकी छन्।