तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिएसँगै भारतको दिल्लीमा कडा प्रतिबन्ध

तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिएसँगै भारतको दिल्लीमा कडा प्रतिबन्ध

तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ । घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् ।

यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ । यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ ।

सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ । यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ ।

रिपोर्ट नलिइ दिल्ली जानेहरु १४ दिन क्वरेण्टिनमा बस्नुपर्ने नियम दिल्ली सरकारले लगाएको छ । पछिल्ला दिनहरुमा भारतमा अरु देशभन्दा धेरै कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ८ सय ३८ जना सङ्क्रमितको ज्यान गएको छ ।