भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ । भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।

पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुने कार्यक्रमहरु भएको र कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को संक्रमणको कारण पनि दोस्रो लहर फैलिएको विशेषज्ञहरुले बताएका छन् ।